मेरो नाम केवल साह ठकुरी हो । मेरो जन्म २०२९ सालमा रोसि गा.पा. वडा नं.४ काभ्रेपलान्चोकमा भएको हो । जन्म मेरो काभ्रेमा भएतापनि २०४० साल देखी म काठमाडौंमा नै बस्दछु । मेरो परिवारमा तीन जना दाजुभाई र दुई दिदीबहिनी भएतापनि दिदीको विवाह र दाजुभाई भिन्न भए पश्चात दिदीको एउटी फरक क्षमता भयकि(बोल्न नसक्ने)छोरी सहित ७५ वर्षकी आमाको साथमा छु । २०७३ साल मंसिर २३ गते यस संस्थाको सदस्य भएँ । संस्थाको सदस्य बन्नु अघि मेरो कुनै व्यवसाय थिएन । त्यसबेला सम्म म संग करिब १२ लाख रुपैयाँ बचत रकम थियो त्यसै रकमबाट बुढी आमा, बोल्न नसक्ने छोरी र मेरो जिविकोपार्जन भइनै रहेको थियो । एक दिन चिनजानकै एकजना मानिसले म संग १२ लाख रुपैयाँ भएको कुरा कहीँबाट थाहा पाइ सापटी माग्न आए । उन्ले मलाई बैंकको भन्दा केही बढी ब्याजदिने लोभ देखाए। बैंकको भन्दा बढी ब्याज आउँदा हामी कुनै पेशा व्यवसाय नभएका मान्छेलाई घर ब्यवहार धान्न निक्कै सजिलो होला भन्ने ठानेँ । मैले उनको कुरालाई विश्वास गरी म संग भएको सम्पूर्ण रकम सापटी दिएँ, तर त्यस मानिसले मैले दिएको सबै रकम खाएर भाग्यो । सापटी दिएको रकम फिर्ता नपाएपछि मलाई घर व्यवहार चलाउन समेत समस्या पर्न थाल्यो । मलाई लाउन खान, घर बहाल तिर्न पनि समस्या हुन थाल्यो । मैले घर व्यवहार चलाउन ऋण सापटी गर्न थालेँ। आफ्नो भएको पैसा पनि खराब आचरण भएको मानिसले खाइदिएको र अन्य आयश्रोत पनि नभएकोले सापटी गरेर घर खर्च चलाएको रकम समेत समयमा तिर्न नसक्दा समाजमा मलाई बस्न समेत गाह्रो भयो । संधै सापटी दिएको पैसा उठ्ला र घर खर्च गर्न लिएको ऋण तिरौंला भनेर बस्न नसक्ने अवस्था आइलाग्यो । अव म व्यवसाय गर्ने निचोडमा पुँगे । नयाँबानेश्वर तरकारी बजारमा सानो ठाउँ फेला पारेँ र तरकारी व्यवसाय सुरुगर्ने योजना बनाएँ । व्यवसाय सुरुगर्ने त भनियो तर लगानी गर्ने पैसा म संग थिएन अब म दोधारमा परेँ । एक जना साथिले पैसा त खोजिदिने तर व्याज मंहगो पर्ने बताउनु भयो । हामी जस्तो सामान्य मान्छेलाई बैंक वित्तिय संस्थाले पनि नपत्याउने र आफ्ना आफन्तले पनि गरिखान ऋण सापटी नदिने भएपछी महंगो ब्याज तिरेरै भएपनी ऋण लिनुपर्ने मेरो बाध्यताका सामु मैले महिनाको पाँच हजार ब्याज तिर्ने गरी एक लाख रुपौयाँ व्यक्ति संग सापटी लिएँ । पाँच हजार ब्याज तिर्ने गरि लिएको सापटी त मेरा लागि झनै अभिसाप भयो मैले दिनभरी खटेर कमाएको रकम त व्याज तिर्दैमा ठिक भयो । मैले सुरुगरेको तरकारी व्यवसायबाट मैले समयमा ऋणको सावाँ तिर्न सक्ने अवस्था देखिएन । मलाई साहुले दिनैपिच्छे आएर अपमान गर्न थाल्यो । संधै झैं त्यसदिन पनि साहु आएर पैसा माग्दा मैले दिन नसक्ने जनाएपछी मलाई अपमान गर्न थाल्यो । मेरो तरकारीको टोकरीहरु जथाभावी मिल्काउन थाल्यो । त्यो देखेपछी छिमेकमा रहेका व्यापारीहरु र ग्राहकहरु झुम्मिए के भयो, कसो भयो खोजिहुन थाल्यो, साहुलाई पैसा दिन म संग कुनै उपाए थियन । उपाय थियो त केवल आँखाबाट आँसु झार्ने, अनुनय विनय गर्ने । मेरो पुकार सुनेर होला भगवानले त्यो रमितेहरुको भिडमा एक जना असल मान्छेपनि पठाएका रहेछन । उनले भने म सहकारीको मान्छे हुँ तपाईको समस्या देखेर म लज्जित छु, भोलि कार्यालयमा आएर मलाई भेट्नु भनेर आफ्नो भिजिटिङ्ग कार्ड दिएर जानुभयो । त्यतिबेला मेरो अपमान गरिरहेको त्यो भिडमा सान्त्वना दिने त्यस मानिस भेट्दा मैले देवता भेटेको महसुस भयो ।

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. तिनकुने, काठमाडौंमा रहेछ जुन सहकारी संस्था र मेरो व्यवसायिक स्थलको दुरी त्यस्तै आधा किलोमिटरमात्र होला । यति नजिकै भएर पनि त्यस संस्थामा मेरो कुनै चिनजान पनि नभएको र आफ्ना आफन्तले पनि त्यस सहकारी संस्थाको बारेमा जानकारी नगराएकाले म हिलटप जुनारको सदस्य भएको थिइन । मलाई सहकारीमा सदस्य भएपछी सहयोग पाइन्छ भन्ने जानकारी पनि थिएन । जब म संस्थाको प्रबन्ध संचालक सुमनविक्रम थापाको कोठामा प्रवेश गरेँ, मैले हिजो भेटेको मानिस उहाँनै हुनुहुन्थ्यो । उहाँले आदरका साथ मलाई स्वागत गर्नु भयो र सहकारी संस्थाका बारेमा विस्तृत जानकारी गराउनु भयो । उहाँ संगको त्यो भेट पछी मैले सहकारी संस्थाको सदस्य बन्ने निधो गरेँ र त्यसै दिन बेलुका सदस्य बन्नका लागी आवस्यक कागजात जुटाई सहकारी संस्थाको सदस्य भएँ । सहकारीको नियम सदस्य भई तिन महिना सम्म बचत गर्नुपर्ने रहेछ । मैले भविष्यमा सहयोग पुग्ने आसामा बचत गर्दै गएँ । मैले ऋण तिर्नुपर्ने साहुलाई आफु हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य भएको कुरा जानकारी गराएँ । सहकारी संस्थाको समन्वयमा तिन महिना भाखा थपका लागि साहुलाई सहमति गराएँ। मैले पहिलो पटक हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. बाट सहुलिएत ब्याज दरमा (वार्षिक १० प्रतिशत) विना धितो समूह जमानी राखेर दुई लाख रुपैंयाँ यूवा स्वरोजगार कोष अन्तर्गतको ऋण लिएँ । ऋण लिँदा आवश्यक पर्ने समूह जमानीका लागि मैले म संगै व्यापार गर्ने धेरै व्यवसायी साथिहरुलाई संस्थाको सदस्य बनाएर बचत गराउन सुरु गरिसकेको थिएँ । मैले सदस्य बनाएका साथिहरुले पनि म जस्तै नियमित बचत गर्दै गएका थिए । म र मेरा साथिहरुले त सहकारीमा मासिक रुपमा नियमित बचत मात्र हैन दिनभरी व्यापार गर्दा भएको आम्दानी समेत बेलुकी सहकारी संस्थामा लगेर जम्मा गर्ने गरेका थियौं । त्यसरी बचत गर्दा आफ्नो खल्तिमा राख्दा जस्तो पैसा मासिने वा हराउने डर हुँदैन थियो । त्यती मात्र हैन आफ्नो खातामा बचत जम्मा गर्दा सहकारी संस्थाले व्याज पनि दिन्थ्यो जुन व्याज मेरो अतिरिक्त आम्दानी थियो । जुन अतिरिक्त आम्दानीले म जस्तो समस्यामा परेको मान्छेको जीवनमा धेरै महत्व राख्दथ्यो। सहकारी संस्थाबाट सहज रुपमै सम्मानजनक ढंगबाट मैले लिएको रकम तुरन्त साहुलाई बुझाई म महिनौ देखीको बोझबाट मुक्त हुन चाहान्थेँ र मैले त्यसै गरेँ । म बेमान थिइन । मेरो नियत कसैबाट पैसा लिएर फजुल खर्च गर्नु थिएन । मलाई कसैले भ्रममा पारेर मलाई ललाई फकाई मेरो सवै बचत समाप्त पारिदिएको थियो । मेरो पैसा लिएको दिन देखी उ मेरो सम्पर्कमा थियन । उस्को नियत मेहनत नगर्ने जालझेल गरेर ठग्ने थियो मैले मान्छे चिन्न नसक्दा दुःख पाइरहेको थिएँ । समाजमा म आफुपनि ठगका कारण बद्नाम भई रहेको थिएँ । मेरो त्यो छोटो समयको भोगाई मेरो जीवनकै अमूल्य सिकाईको रुपमा रह्यो । मैले त्यो दुःखको बेला सहयोग गर्ने सहकारी संस्थालाई दिलो ज्यानले सहयोग गर्नु पर्दथ्यो नै मैले सकेको गरेँ । मैले आफ्नो व्यवसायको सम्पूर्ण कमाई सहकारी संस्थामा नै बचत गर्दथेँ । म जस्तै दुःख पाएका मानिसहरुलाई सहकारी संस्थाको बारेमा जानकारी गराउँदथेँ । व्यक्तिबाट ऋण लिँदा मैले भोगेको अनुभूतिहरू र आपत परेका बेला हिलटप जुनार सहकारीले सहयोग गरेको कुरा बताउँदा साथिहरु सहकारी संस्थामा सदस्य बन्न र बचत गर्न लालायीत हुन्थेँ । मैले तीन वर्षको लागि लिएको ऋण तिर्न मलाई पुरा समय लागेन । समय भन्दा छ महिना अगावै पुरा ऋण मैले तिरिसकेको थिएँ । संस्थाबाट लिएको ऋण समयमै तिर्न सकेकले मलाई संस्थाले मैले तिरेको व्याजमा ६० प्रतिशत ब्याज फिर्ता दिने जानकारी मलाई गराएको थियो । मैले ब्याज अनुदान फिर्ता पाउँदा मेरो ऋणको ब्याजदर चार प्रतिशत हुन आउँथ्यो त्यसले मलाई धेरै राहत प्रदान गर्दथ्यो त्यसैको लागि पनि म समयमै ऋण चुक्ता गर्न चाहन्थेँ। म संस्थाको सदस्य भएपछी सहकारी संस्थाले मेरो व्यापारको प्रचार प्रसार गरेकै थियो । नजिकका मान्छेहरु मलाई खोज्दै तरकारी किन्न आउन थालेका थिए । सहकारी संस्थाको सदस्य भएकै कारण पनि मेरो व्यापार दिनदिनै बढीनै रहेको थियो । मैले संस्थाबाट तीन वर्षको लागि लिएको ऋण छ महिना अगावै चुक्ता गर्न म सफल भै सकेको थियँ । अव त म कसैको ऋणी थिइन । भएको सवै ऋण मैले हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य भएको नौ महिना भित्रै मेरो आफ्नो लगनशिलता, मेहनत र हिलटप जुनार सहकारीको सहयोगमा तिर्न सफल भई सकेको थिएँ। मैले ऋण तिरेको मात्र हैन मैले ऋण खाएर तिर्न नसक्दा यो समाजबाट भोग्नुपर्ने अपमानबाट समेत अव म मुक्त भएको थिएँ। मेरो टाउको त्यसदिन यति हल्का भएको थियो मैले आफुलाई त्यसदिन स्वतन्त्र भएको महसुस गरेँ । अव मैले आफुलाई समाजको समृद्ध नागरिकको रुपमा विकास गर्नुपर्ने थियो । म सहकारी संस्थामा छलफलको लागि गएँ । सहकारी संस्थाबाट हाल मैले गरिरहेको व्यवसायको स्थरोन्तीको सल्लाह पाएँ । मलाई सहकारीको सल्लाह चित्त बुझ्यो । म अव त तरकारी व्यापारको लागि पोख्त भै सकेको थिएँ । मेरा आफ्ना नियमित ग्राहकहरुपनि प्रसस्तै भैसकेका थिए। सहकारी संस्थामा सदस्य बन्दा मलाई सवै भन्दा राम्रो लागेको पक्ष भनेको सबै समृद्ध हुनु पर्दछ भन्ने थियो । मलाई अव नीजि व्यवसाय गर्दापनि साझेदारीमा गर्नुपदर्छ भन्ने लाग्न थाल्यो । म भित्र सहकारीको सदस्य हुँदै सहकारीमा रहेर संस्थाले दिएका विभिन्न तालिमहरु लिँदै गर्दा सहकार्यको भावनाको विकास हुँदै भएको थियो त्यसैले होला मैले एकल भन्दा साझेदारी व्यवसायमा विश्वास गरेँ । साझेदारीमा व्यवसाय गर्दा लगानी र जोखिम दुवै बाँडिन्थ्यो त्यसमा हामी सहमत भयौं । म र मेरा तरकारी व्यवसायि साथिहरु मिलेर सहकारी संस्थाकै नजिक दुई रोपनि जति जग्गा भाडामा लिएर टहरो बनाई तरकारी बजारको निमार्ण सुरु गरियो । तरकारी बजार तयार गर्दा सहकारी संस्थाबाट नपुग रकम ऋण लिएका छौं । बजार निमार्ण संगसंगै सोही बजारमा मैले निजी लगानीमा तरकारीको थोक तथा खुद्रा पसलपनि संचालनमा ल्याएको छु । विहान ४ बजे देखी ७ बजे सम्म तरकारीको थोक व्यापार गर्दछु भने त्यसपछी सोही ठाउँबाट तरकारीकै खुद्रा व्यापार गर्दछु । मेरो आजको अवस्था आर्थिक रुपले धेरै राम्रो बनेको छ । भन्दा बढी भने जस्तो होला मलाई हिजो दुःख दिनेहरु आज म संग हितैसि बन्न खोजिरहेका छन् । उनिहरुको हाउभाउ हेर्दा भित्र भित्रै मेरो उन्नती देखि छटपटिएका होलान तर मलाई थाहा छ हिजो मलाई महंगोमा ऋण दिएर मैले समयमा तिर्न नसक्दा दुःख दिनेहरु आजपनि म जस्तै दुःख पाएकालाई त्यस्तै पिडा दिइरहेकाछन् । उनिहरुको त पेशा नै रहेछ महंगो व्याजमा ऋण लगानी गर्ने, मरेको मान्छेलाई झन मार्ने । अनि उनिहरुका ग्राहक हुँदा रहेछन् सहकारी संस्थामा पहुँच नभएका दुःखी गरिब। दुःख मैले पनि पाएँ तर दुःख पाएँ भन्दैमा मैले हरेस खाइन । मेहनत गर्न छाडिन र कमाउनकै लागि मैले गलतबाटो रोजिन। अन्तमा मैले धेरै सहकारी संस्थाहरु देखेको छु तर हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था अरु संस्थाको तुलनामा फरक छ । यहाँ सवै वर्गका मानिसलाई सम्मानजनक व्यवहार गरिन्छ । कसैमाथि भेदभाव छैन । हामि जस्ता निम्न वर्गका मानिसहरुको विकासमा सहकारी संस्थाले धेरै काम गरेको छ । सहकारी संस्थाकै कारण म जस्ता धेरै मानिसहरुको उन्नती भएको छ । जय होस् हिलटप जुनार सहकारी ।

केवल शाल ठकुरी

तिनकुने, काठमाडौं

shares