सहकारी शिद्धान्तमा आधारित रहेर हाम्रो समूदायमा रहेको स्रोत–साधन, पुँजी तथा वस्तुहरुलाई एकीकृत गरी सोही समाजमा अधिकतम उपभोग गरी उदाहरणीय रुपमा समाजको रुपान्तरण गर्न सकिन्छ र आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा समाजलाई नयाँ परिचय दिलाउन सकिन्छ भन्ने अभिप्रायका साथ यस हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.को स्थापना भएको हो । 'एकका लागि सवै र सबैका लागि एक' भन्ने मूल मन्त्रलाई आत्सात् गर्दै सवै सदस्यहरुका बीचमा एकताको भावनाको विकास गराउँदै आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा समृद्ध, स्वावलम्बी एवं आत्मनिर्भर समाज निमार्णमा टेवा पुर्याउन यस सहकारी संस्थाले नेपाल सरकारको डिभिजन सहकारी कार्यालय काठमाडौंबाट २०६६ साउन ३० गते द.नं.२४६२ मा दर्ता भई सहकारीको रुपमा कारोवार गर्न इजाजत प्राप्त गरेको समुदायमा आधारित सहकारी संस्था हो ।

नेपालीहरुको सबैभन्दा ठूलो हिस्सा कृषि व्यवसायमा संलग्न भएको र कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरण हुन नसकेको अवस्थामा लाखौँ युवा जनशक्ति विदेशी भूमिमा पसिना चुहाउन बाध्य छन् । तिनै युवाको पौरख नेपालभित्र नै सदुपयोग गर्न सहकारीका माध्यमबाट संगठित गर्दै सदस्यहरुमा सहकार्यको भावना विकास गराई छरिएर रहेको स्रोत, साधन तथा सीपलाई एकीकृत गरी शिक्षा, स्वास्थ, रोजगार र सीप विकासमा जोड दिँदै प्रत्येक सदस्यहरुमा उद्यमशीलताको विकास गराई तिनै उद्यमीहरुमार्फत संकलित स्रोत तथा साधनहरुको परिचालन गरी स्वावलम्वी तथा आत्मनिर्भर समाजको निर्माणमा योगदान गर्ने लक्ष्य बनाएको छ ।

यस संस्थामा युवा तथा उपेक्षित वर्गको संलग्नता हुन सक्दा संस्थाले उपलब्ध गराएको शिक्षा, तालिम तथा सीपमार्फत उद्यमशीलताको विकास हुने र सदस्यहरुमार्फत उद्योग व्यवसायमा सहभागी भई सदस्यहरुमा रोजगारको अवसर सिर्जना भई रोजगारका लागि विदेशिनै पर्ने बाध्यात्मक अवस्थामा कमी हुने, कृषिजन्य लगायत औधोगिक उत्पादनमा वृद्धि हुनसक्दा राष्ट्रिय अर्थतन्त्र निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ ।